विनिता दाहाल, काठमाडौं, माघ ११- वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघालाई अपहरण गर्ने चारजनालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर्याउँदै जेल सजायको फैसला सुनाएको छ। अदालतले अपहरणका मुख्य दोषी कृष्णछारा राई र सिद्धार्थ लामालाई अपहरण तथा शरीर बन्धक मुद्दामा १६ वर्ष र डाका मुद्दातर्फ ६ वर्ष गरी २२ वर्ष कारावासको सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद पोखरेलको इजालसले राई र लामालाई झन्डै २६ लाख रुपैयाँ जरिवानाको गर्ने समेत फैसलना सुनाएको छ।
०६५ साउन १९ गते देवकोटा छोरीलाई काठमाडौंको खड्ग भद्रकाली गाविसको हेपाली हाइटमा अपहरण गरी ललितपुरको नक्खुमा राखेर एक करोड ३० लाख फिरौती लिएर छाडेका थिए। हेमबहादुर मगरलाई तत्काल नियन्त्रणमा लिइ प्रहरीले खोजी गर्दा अपहरणकाण्डका मुख्य अभियुक्त लामा र राई समातिएका थिए।
अपहरणमा मतियारको रुपमा काम गर्ने हेमबहादुर मगरलाई १५ वर्ष कैद र एकलाख ७५ हजार जरिवाना हुने र अर्का मतियार राजु लामालाई १३ वर्ष कैद र एकलाख ७५ हजार जरिवाना हुने फैसला अदालतले गरेको छ।
०६५ भदौ २३ गते अदालतमा मुद्दा दायर भएदेखि नै चारैजना दोषी कारागारमा रहँदै आएका छन्। अपहरणमा संलग्न राजु थापा, राजेश क्षेत्री भनिने गोकुल गिरी र केशव दर्लामी फरार छन्।

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook